
कोसी प्रदेशका प्रदेश प्रमुख परशुराम खा पुङले नयाँ मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश सभाका दलहरूलाई आह्वान गरेका छन्।
शुक्रवार एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख खा पुङले साउन १६ गते मङ्गलवार साँझ ५ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा धेरै दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्न समय दिइएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ।
‘सर्वोच्च अदालतको पूर्ण इजलासबाट भएको आदेशबमोजिम ‘जुन विन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटि भएको हो, सोही अवस्थाबाट संविधानसम्मत तवरले प्रक्रिया अगाडि बढाउन मनासिब देखिएको हुँदा २०८०/४/१७ भित्र नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नु’ भन्ने परमादेश जारी भएको र सोहीअनुसार सरकार गठनको आह्वान गरिएको’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सर्वोच्च अदालतले यसअघि मुख्यमन्त्री बनेका काँग्रेसका उद्धव थापाको नियुक्ति बदर गर्दै साउन १७ भित्रमा संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार बनाउन आह्वान गर्न आदेश दिएको थियो।
प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनबारे आह्वान गरे पनि कामचलाउ मुख्यमन्त्री को भन्नेबारे केही बोलेको छैन।
