
४ असार २०८१
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी नदीमा निर्माण सुरु गरिएको १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजना हालसम्म पनि संचालनमा आउन सकेको छैन । मध्यभोटेकोशी जलविद्युत कम्पनि लिमिटेडले वि.सं २०७० सालबाट निर्माण शुरु गरेको यस आयोजनाको निर्माण कार्य सम्पन्न गरी परिक्षण गर्दा विद्युत् गृह अर्थात् पावर हाउसमा पानी ल्याउने सुरुङबाट पानी चुहिएपछि पूर्व कर्मचारीको नाम जोडिएको छ ।
सुरुङ निर्माणको क्रममा गुणस्तरीय सामग्री प्रयोग गरेर काम गर्नुपर्नेमा तत्कालीन आयोजन प्रमुख र साइट इन्चार्जको गम्भीर लापरबाहीको कारण परीक्षणकै क्रममा पानी चुहिएको भनि विभिन्न समाचार प्रकाशित भएका छन् । आयोजना प्रमुख सुर्यनाथ भुर्त्यालले ठेकेदार कम्पनी र केही राजनीतिक दलका नेतासँग मिलेमतो गरी सुरुङमा भइरहेको निर्माणमा लापरबाही गरेको भनि प्राधिकरणलाई उदृत गर्दै समाचार प्रकाशन भएका छन् ।
त्यस्तै साइट इन्चार्ज सिनियर सिभिल इन्जिनियर उमेश पराजुलीले पनि आफ्नो कर्तव्य पूरा नगरी ठेकेदार र स्थानीय केही राजनीतिक दलका नेताहरूसँग मिलेर आयोजनाविरुद्ध षड्यन्त्र गर्दा अहिले सुरुङबाट पानी चुहिएको भनि मध्य भोटकोशी जलविद्युत् कम्पनी लिमिटेडलाई उदृत गर्दै समाचार प्रकाशन भएका छन् ।
यी प्रकाशित समाचारका बारेमा मध्यभोटेकोशी जलविद्य्त आयोजनाका सिइओ रामगोपाल शिवाकोटी र डाइरेक्टर नारायण आचार्यसँग बुझ्दा, ती समाचारमा कुनै पनि सत्यता नभएको र सुरुङबाट पानी चुहिनुमा कुनै एक व्यक्तिको मात्र लापरवाहि नभइ, प्राविधिक त्रुटि रहेको बताएका छन् ।
यता तत्कालीन आयोजना प्रमुख सुर्यनाथ भुर्त्याल र साइट इन्चार्ज सिनियर सिभिल इन्जिनियर उमेश पराजुलीले भने आफूमाथी झुठो आरोप लगाइ समाचार प्रकाशन गरी मानहानी गरेको भनि अदालतमा मुद्दा दायर गर्ने तयारीमा रहेको बताएका छन् ।
