चितवन– श्री एयरलाईन्सको जहाजले भरतपुर विमानस्थलमा सफल परीक्षण उडान गरेको छ । बिहीवार विहान श्री एयरको ड्यास–८–क्यू–४०० जहाज भरतपुर विमानस्थलमा अवतरण गरेको हो ।

अहिले बुद्ध एयरका जहाजले मात्रै काठमाडौं–भरतपुर उडान भर्दै आएका छन् । बुद्ध एयरले उडान गरिरहेको एटिआर–४२ जहाज फेज आउटको चरणमा रहेको समयमा श्री एयरलाइन्सले परीक्षणको अनुमति पाएको हो ।

श्री एयरलाईन्सका अध्यक्ष सुधिर मित्तलले परीक्षण सकेर अनुमति पाएपछि नियमित उडान प्रारम्भ गर्ने बताएका छन् । त्रिभुवन विमानस्थलबाट उडेको श्री एयरको ८० सिटको जहाज १४ मिनेटमा भरतपुर विमानस्थलमा अवतरण भएको थियो । बुद्ध एयरको एटिआर–४२ लाई काठमाडौंबाट भरतपुर विमानस्थलमा ल्याण्ड हुन २० मिनेट लाग्छ ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले प्रकृया पुरा भएलगत्तै भरतपुर विमानस्थलमा श्री एयरको नियमित उडान प्रारम्भ हुने बताएका छन् ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले धेरै एयरलाइन्स र ठूलो क्षमताको जहाजहरु आउँदा भाडा घट्ने र जनताले राहत पाउने विश्वास व्यक्त गरिन् ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले विमानस्थललाई विस्तार गरेर आन्तरिक उडान भर्ने सबै जहाज यहाँ आउने वातावरण बनाउने बताए ।

गृहमन्त्री रवि लामिछानेले ठूलो क्षमताका जहाजसँगै चितवनमा खुसी पनि आउने बताए ।

श्री एयरलाइन्सका अपरेसन डाइरेक्टर क्याप्टेन कुन्दन गिरीले अनुमति पाएपछि गर्मीको मौसममा काठमाडौंबाट आउँदा ७० भन्दा बढी र फर्किँदा कम्तीमा ५५ जना यात्रु बोक्न सक्ने बताए । उडान प्रारम्भ गरेसँगै भाडा पनि घट्ने उनको भनाइ छ ।

बुद्ध एयरको भरतपुर–काठमाडौं उडानको भाडा अहिले ४ हजार ७ सयभन्दा बढी छ । श्री एयरलाइन्ससँग अहिले ड्यास–८–क्यू–४०० जहाज ७ वटा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0